वर्षाले धोका दिँदा नेपाल एसियन गेम्सबाट बाहिरियो, श्रीलंका सेमिफाइनलमा
काठमाडौं । लगातारको वर्षाका कारण क्वाटरफाइनल खेल हुन नसक्दा नेपाल एसियन गेम्सको क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । मंगलबार नेपाल र श्रीलंकाबीच हुने तय भएको क्वाटरफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
खेलमा एक बलसमेत नखेलिएपछि आईसीसी टी–२० वरीयताका आधारमा श्रीलंका सेमिफाइनलमा प्रवेश गरेको छ । आईसीसीको पछिल्लो पुरुष टी–२० वरीयतामा श्रीलंका नवौँ स्थानमा छ भने नेपाल १४औँ स्थानमा रहेको छ । यही वरीयतालाई आधार मानेर श्रीलंकालाई सेमिफाइनलमा स्थान दिइएको हो ।
समूह ‘ए’ मा रहेको नेपालले प्रतियोगिताको सुरुवात अफगानिस्तानविरुद्ध पाँच विकेटको जितबाट गरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानलाई नेपालले २० ओभरमा १०२ रनमै सीमित गरेको थियो । १०३ रनको लक्ष्य नेपालले १७ ओभर २ बलमा पाँच विकेट गुमाएर पूरा गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो ।
त्यसपछि आयोजक जापानसँगको खेलमा नेपालले उत्कृष्ट ब्याटिङ गरेको थियो । नेपालले चार विकेटको क्षतिमा १५ ओभरमा १४९ रन बनाएको थियो । नेपालका सन्दीप जोराले ३२ बलमा पाँच चौका र तीन छक्कासहित अविजित ५७ रन बनाए । त्यस्तै लोकेश बमले २२ बलमा एक चौका र छ छक्काको मद्दतमा अविजित ५२ रन जोडे ।
ओपनर आसिफ शेखले १५ बलमा २१ रन बनाएका थिए भने कुशल भुर्तेल १२ बलमा चार रनमा आउट भएका थिए । कुशल मल्ल र गुल्सन झाले समान दुई–दुई रन बनाए ।
तर, वर्षाका कारण नेपाल र जापानबीचको खेल पूरा हुन नसकेपछि दुवै टोलीले अंक बाँडे । त्यससँगै तीन अंक जोडेको नेपाल समूह विजेता बनेर क्वाटरफाइनलमा पुगेको थियो ।
क्वाटरफाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्ने तयारीमा रहेको नेपालका लागि भने वर्षा बाधक बन्यो । खेल सुरु नै हुन नसकेपछि वरीयतामा अगाडि रहेको श्रीलंकाले सेमिफाइनलमा स्थान बनाएको हो । यससँगै नेपालले एसियन गेम्समा थप खेल खेल्ने अवसर गुमाएको छ।