रसुवा–नुवाकोटका बाढीपीडितको तत्काल उद्धार गर्न सांसदहरूको माग
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकको तत्काल उद्धार गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले बाढीपहिरो प्रभावित क्षेत्रमा युद्धस्तरमा उद्धार, राहत तथा पुनर्स्थापनाको काम अघि बढाउन सरकारसँग माग गरेका हुन् ।
नुवाकोटका सांसद अर्जुननरसिंह केसीले बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको भन्दै सम्पूर्ण विवाद थाती राखेर उद्धार, राहत र पुनर्स्थापनामा युद्धस्तरमा खटिन सरकारलाई आग्रह गरे । उनले बेपत्ता नागरिकको खोजी तथा क्षतिग्रस्त ऐतिहासिक बजारको पुनर्निर्माणका लागि तत्काल एकीकृत राहत प्याकेज घोषणा गर्न पनि माग गरे ।
रसुवाका सांसद मोहन आचार्यले प्रारम्भिक अनुमानमै ठूलो मानवीय क्षति भएको भन्दै विपत्तिलाई तत्काल ‘राष्ट्रिय विपद्’ घोषणा गर्नुपर्ने बताए । सडक सञ्जाल विच्छेद भएकाले उद्धारका लागि हेलिकप्टरबाहेक विकल्प नरहेको उल्लेख गर्दै उनले उपलब्ध सबै हेलिकप्टर तत्काल रसुवा पठाउन माग गरे ।
त्यस्तै, सांसद वसुमाया तामाङले हेलिकप्टरसहितका उद्धार टोलीलाई पूर्ण क्षमतामा परिचालन गरी सम्पर्कविहीन नागरिक तथा सुरक्षाकर्मीको तत्काल खोजी र उद्धार गर्न सरकारसँग आग्रह गरिन् ।