बागमतीमा विश्वासको मत लिन मुख्यमन्त्री थापा मगरको दोस्रो प्रयास, गठबन्धनभित्रै संकट
हेटौँडा — बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सरकार जोगाउन मंगलबार पुनः प्रदेशसभाबाट विश्वासको मत लिने प्रयास गरेका छन्। सत्ता गठबन्धनभित्रको विवादका कारण सोमबार बस्न नसकेको प्रदेशसभा बैठक मंगलबार दिउँसो ४ बजेका लागि बोलाइएको थियो।
मुख्यमन्त्री थापालाई विश्वासको मतका लागि १०४ सदस्यीय प्रदेशसभामा कम्तीमा ५३ सांसदको समर्थन आवश्यक छ। एमालेका २५ र नेकपाका २६ गरी गठबन्धनसँग ५१ सांसद छन्। त्यसैले राप्रपाका १२ सांसदको भूमिका निर्णायक बनेको छ।
यसैबीच नेपाली कांग्रेसले मुख्यमन्त्री थापाको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ। मुख्यमन्त्रीको नियुक्तिविरुद्ध उच्च अदालत पाटन, हेटौँडा इजलासमा मुद्दा विचाराधीन रहेकाले अदालतको निर्णयअघि विश्वासको मत लिन खोज्नु उचित नभएको कांग्रेसको तर्क छ।
राप्रपाभित्र पनि मुख्यमन्त्रीलाई समर्थन गर्ने विषयमा विवाद चर्किएको छ। पार्टी केन्द्रले सरकारमा सहभागी भएका आफ्ना सांसदविरुद्ध कारबाही प्रक्रिया अघि बढाएपछि प्रदेश तहमा त्यसको वैधानिकतामाथि प्रश्न उठाइएको छ। राप्रपाको समर्थन वा अनुपस्थितिले थापा सरकारको भविष्यमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ।
यता नेकपाभित्रको असन्तुष्टि भने मंगलबार केही मत्थर भएको छ। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेपछि असन्तुष्ट सांसदहरू मुख्यमन्त्री थापालाई विश्वासको मत दिन सकारात्मक बनेका छन्।
यसअघि सोमबार गठबन्धनभित्र सहमति जुट्न नसकेपछि प्रदेशसभा बैठक पटक–पटक सारिएको थियो। अब राप्रपाका सांसदको भूमिका, कांग्रेसको बहिष्कार र गठबन्धनका सांसदको उपस्थितिले मुख्यमन्त्री थापा मगरले विश्वासको मत पाउने वा नपाउने निर्धारण गर्नेछ।