बुद्ध एयरले भन्यो– ‘बाटोघाटो सहज नभएसम्म भाडादर बढाउँदैनौँ, थप छुट दिन्छौँ’
काठमाडौं । बाढी तथा पहिरोका कारण सडकमार्ग प्रभावित भइरहेका बेला बुद्ध एयरले बाटोघाटो सहज नभएसम्म हवाई भाडादर नबढाउने प्रतिबद्धता जनाएको छ।
कम्पनीले विषम परिस्थितिका कारण व्यावसायिक चुनौती भए पनि यात्रुलाई सहज र सुलभ हवाई सेवा उपलब्ध गराउने जनाएको हो।
बाढी–पहिरोका कारण सडकमार्ग अवरुद्ध हुँदा हवाई यातायातमा यात्रुको चाप बढिरहेको अवस्थामा पनि यात्रुलाई थप आर्थिक भार नपर्ने गरी भाडादरमा परिवर्तन नगर्ने बुद्ध एयरले स्पष्ट पारेको छ।
कम्पनीले बाटोघाटो सहज नभएसम्म विद्यमान भाडादर कायम राख्ने र आवश्यक परे थप छुटसमेत उपलब्ध गराउने जनाएको छ।
बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई आवतजावतमा सहजता प्रदान गर्नु अहिलेको प्राथमिकता रहेको जनाउँदै बुद्ध एयरले कठिन परिस्थितिमा यात्रुलाई सहयोग गर्नु आफ्नो दायित्व भएको बताएको छ।
कम्पनीका अनुसार सडक यातायात सहज भएपछि मात्रै हवाई यात्राको अवस्था र भाडादरबारे पुनरावलोकन गरिनेछ।