भोटेकोशी बाढीले नेपाल–चीन सीमाक्षेत्रमा ठूलो क्षति
रसुवा — भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोले नेपालसँगै चीनको तिब्बतस्थित केरुङ क्षेत्रमा पनि ठूलो क्षति पुर्याएको छ। बाढीका कारण केरुङमा ३ जनाको मृत्यु भएको र २६५ जना सम्पर्कविहीन रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
बाढीले सडक, विद्युत्, सञ्चार तथा नेपाल–चीन जोड्ने पूर्वाधारमा क्षति पुर्याएको छ। उद्धारका लागि चीनले जनमुक्ति सेना र १११ जना उद्धारकर्मी परिचालन गरेको छ।
नेपालतर्फ पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धार तथा राहतमा खटिएका छन्। प्रभावित क्षेत्रमा यातायात र सञ्चार अवरुद्ध रहेकाले क्षतिको पूर्ण विवरण आउन बाँकी छ।