इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनेईको युद्धपछि पहिलो भिडियो सार्वजनिक
काठमाडौं — इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनेई युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिएको भिडियो सार्वजनिक भएको छ।
इरानी समाचार एजेन्सी मेहरले सार्वजनिक गरेको भिडियोमा मुजतबा जमिनमा बसेर केही व्यक्तिसँग कुराकानी गरिरहेको देखिन्छ। सर्वोच्च नेता बनेपछि सार्वजनिक भएको यो उनको पहिलो भिडियो भएको बताइएको छ। यद्यपि भिडियो कहिले र कहाँ खिचिएको हो भन्नेबारे भने कुनै जानकारी दिइएको छैन।
पछिल्ला केही दिनदेखि मुजतबाको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न दाबी सार्वजनिक हुँदै आएका थिए। इजरायली च्यानल–१४ ले स्रोतलाई उद्धृत गर्दै उनको स्वास्थ्य अवस्था गम्भीर रहेको र अस्पतालमा उपचार भइरहेको दाबी गरेको थियो। केही रिपोर्टमा उनको अवस्था थप बिग्रिएको र चाँडै मृत्यु हुन सक्ने आशंकासमेत व्यक्त गरिएको थियो।
यस्तो अवस्थामा मुजतबा सार्वजनिक भएको भिडियो बाहिरिएपछि उनको स्वास्थ्यबारे सार्वजनिक गरिएका दाबीमाथि प्रश्न उठेको छ। यद्यपि उनको वास्तविक स्वास्थ्य अवस्था कस्तो छ भन्ने अझै स्पष्ट भइसकेको छैन।
यसअघि साउदी सञ्चारमाध्यम अल–हदथले इजरायली सुरक्षा स्रोतलाई उद्धृत गर्दै मुजतबा त्यस समयमा इरानमा नरहेको दाबी गरेको थियो।
स्रोतका अनुसार मुजतबाको नामबाट जारी भइरहेका सरकारी सन्देशहरू इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का नयाँ प्रमुख अहमद वाहिदी तथा अन्य उच्च अधिकारीहरूले तयार गरिरहेका थिए।
तर, मुजतबा खामेनेईको पछिल्लो भिडियो सार्वजनिक भएपछि उनको अवस्थाबारे यसअघि सार्वजनिक भएका दाबीमाथि थप चासो बढेको छ।