देउवा समूहले डडेल्धुरामा गर्यो कांग्रेसको जिल्ला अधिवेशन
नेपाली कांग्रेसमा समानान्तर गतिविधि सञ्चालन गर्दै आएको पूर्वसभापति शेरबहादुर देउवा समूहले उनको गृहजिल्ला डडेल्धुरामा १५औँ महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन गरिरहेको छ।
समूहले शनिबार क्षेत्रीय तथा आठौँ जिल्ला अधिवेशन गर्न लागेको हो। अधिवेशनबाट जिल्लाको नयाँ नेतृत्वसँगै महाधिवेशन प्रतिनिधिहरू चयन गरिनेछन्।
कांग्रेस डडेल्धुराका तत्कालीन सभापति भीमबहादुर साउद विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिले आयोजना गरेको अधिवेशनमा सहभागी भएपछि देउवा समूहले उपसभापति डिल्लीराज जोशीलाई अधिवेशन संयोजकको जिम्मेवारी दिएको थियो।
स्रोतका अनुसार अधिवेशनबाट जोशी जिल्ला सभापति चयन हुने सम्भावना छ। अधिवेशनअघि देउवा समूहले डडेल्धुरा बसपार्कदेखि निर्माण व्यवसायी संघको सभाहलसम्म बाजागाजासहित र्याली निकालेको थियो।
देउवा समूहले यसअघि संखुवासभा, डोल्पा, हुम्ला, जुम्ला, मुगु, रुकुम पश्चिम, कालिकोट, डोटी, बैतडी, रोल्पा र दैलेखमा नयाँ नेतृत्व चयन गरिसकेको छ।
१५ असोजदेखि वडा अधिवेशन सुरु गरेको उक्त समूहले १५ कात्तिकमा जिल्ला अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो।