मधेसमा कृषि क्षेत्रमा करिब ९ अर्ब सहुलियतपूर्ण कर्जा प्रवाह
मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा ८ अर्ब ९९ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छन्।
नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदनअनुसार आठ जिल्लामध्ये सबैभन्दा बढी धनुषामा १ अर्ब २ करोड रुपैयाँ र सबैभन्दा कम सप्तरीमा ३० करोड रुपैयाँ कृषि कर्जा प्रवाह भएको छ।
प्रतिवेदनअनुसार मधेस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान ३४.९७ प्रतिशत रहने अनुमान छ। प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ९३४ अमेरिकी डलर रहने अनुमान गरिएको छ।
कृषि उत्पादनतर्फ फलफूलको उत्पादन ४.९९ प्रतिशत र तरकारी तथा बागवानीको उत्पादन ०.५४ प्रतिशतले बढेको छ। यस्तै, मासु उत्पादन १०.१९ प्रतिशत, अन्डा उत्पादन ३.११ प्रतिशत र माछा उत्पादन ५.०५ प्रतिशतले वृद्धि भएको छ। दूध उत्पादन भने २.६७ प्रतिशतले घटेको छ।
राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तसम्म मधेस प्रदेशमा कृषि, वन तथा मत्स्य क्षेत्रमा कुल ५९ अर्ब ८६ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ।
यसैगरी, प्रदेशका बैंक तथा वित्तीय संस्थामा निक्षेप १७.३२ प्रतिशतले बढेर ४ खर्ब ७८ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ०.१८ प्रतिशतले घटेर ४ खर्ब ९४ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ।
प्रतिवेदनअनुसार गत आर्थिक वर्ष मधेस प्रदेशबाट १ लाख ७९ हजार ४१ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। यो देशभरबाट श्रम स्वीकृति लिने कुल सङ्ख्याको २२.६० प्रतिशत हो।