उच्च अदालत सुर्खेत, जुम्ला इजलासद्वारा ९५.५३ प्रतिशत मुद्दा फछ्र्योट
जुम्ला — उच्च अदालत सुर्खेत, जुम्ला इजलासले गत आर्थिक वर्ष २०८२/८३ मा ९५ दशमलव ५३ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ।
जुम्ला इजलासका मुख्य न्यायाधीश वसन्तराज पौडेलका अनुसार आर्थिक वर्षभरि अदालतमा नयाँ दर्ता भएका तथा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका मुद्दामध्ये अधिकांशको टुंगो लगाइएको हो।
गत आर्थिक वर्षमा अदालतमा नयाँ ३२१ मुद्दा दर्ता भएका थिए भने अघिल्लो आर्थिक वर्षबाट १५ वटा मुद्दा जिम्मेवारी सरेर आएका थिए। तीमध्ये ३२१ वटा मुद्दा फछ्र्योट गरिएको मुख्य न्यायाधीश पौडेलले जानकारी दिए।
अदालतका अनुसार सो अवधिमा १५ वटा मुद्दा भने फैसला हुन बाँकी छन्। अदालतले बाँकी रहेका मुद्दासमेत शीघ्र टुंगो लगाउँदै पुराना मुद्दालाई शून्यमा झार्ने लक्ष्य लिएको छ।
त्यस्तै, थुनुवासम्बन्धी मुद्दामा पनि अदालतले उच्च प्राथमिकताका साथ काम गरेको जनाएको छ। गत आर्थिक वर्षमा थुनुवासम्बन्धी ११६ वटा मुद्दा परेकोमा ११५ वटा मुद्दा फछ्र्योट गरिएको थियो।
चार जना न्यायाधीशको दरबन्दी रहेको जुम्ला इजलासमा हाल तीन जना न्यायाधीश कार्यरत छन्। सीमित जनशक्तिका बाबजुद पनि अदालतले अधिकांश मुद्दाको टुंगो लगाउन सफल भएको जनाएको छ।
अदालतले बाँकी रहेका मुद्दालाई समेत प्राथमिकताका आधारमा फछ्र्योट गर्दै न्याय सम्पादनलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ।