कञ्चनपुर जिल्ला अदालतको मुद्दा फर्छ्यौट दर ६९.३४ प्रतिशत
कञ्चनपुर — कञ्चनपुर जिल्ला अदालतले आर्थिक वर्ष २०८२–८३ मा कुल २ हजार २०८ मुद्दामध्ये १ हजार ५२४ मुद्दा फर्छ्यौट गर्दै ६९.३४ प्रतिशत फर्छ्यौट दर हासिल गरेको छ।
शुक्रबार कार्यसम्पादन विवरण सार्वजनिक गर्दै जिल्ला अदालतका न्यायाधीश राजेन्द्र भण्डारीले १ हजार ४११ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य रहेकामा १ हजार ५२४ मुद्दा टुंग्याएर लक्ष्यको १०८ प्रतिशत उपलब्धि हासिल गरिएको जानकारी दिए। हाल ६८४ मुद्दा विचाराधीन छन्।
अदालतका अनुसार ३० करोड १४ लाख रुपैयाँभन्दा बढी जरिवानामध्ये पाँच करोड १३ लाख रुपैयाँ असुल भएको छ भने २५ करोड रुपैयाँभन्दा बढी अझै उठाउन बाँकी छ।
न्यायाधीश भण्डारीले मुद्दाको चाप बढ्दै गएको तर स्रोत–साधन र इजलास अभावका कारण चुनौती रहेको बताए। उनका अनुसार हाल दुई इजलास मात्रै रहेकाले थप एक इजलास स्थापना गर्न सके मुद्दा फर्छ्यौट अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे। अदालतले फैसला कार्यान्वयन, फरार प्रतिवादी खोजी तथा जरिवाना असुलीलाई पनि तीव्र बनाइएको जनाएको छ।