काठमाडौंका मेयर बालेनको शैलीको कांग्रेसले समर्थन गर्नु भनेको गणेशमान, कृष्णप्रसाद र गिरिजाको अपमान हो: प्रमुख सचेतक बर्तौला
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को शैलीलाई नेपाली कांग्रेसले समर्थन गर्नु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालामाथिको अपमान भएको बताउनुभएको छ ।
संसद भवन बाहिर बिहीबार संचारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रमुख सचेतक बर्तौलाले मेयर साहबाट भइरहेको काम स्वभाविक प्रकृतिको नभएको बताउनुभयो । सामाजिक सञ्जालमा मेयर साहले विभिन्न स्ट्याटसहरु लेखेर नकारात्मक पथमा समाजलाई हिंडाउने काम गरिरहेको उहाँको भनाइ छ ।
देश र लोकतन्त्रका लागि लडेका नेताहरुको बारेमा मेयर साहको टिप्पणी तल्लो स्तरको रहेको उहाँले बताउनुभयो । कांग्रेस अस्थिरतामा प्रवेश गरेर स्वार्थमा खेल्न खोजिरहेको प्रमुख सचेतक बर्तौलाले आरोप लगाउनुभएको छ ।