केन्द्रीय समिति बैठक लाइभ गरेकोमा देउवाको प्रशंसा
नेपाली कांग्रेसले पहिलो पटक यसपालिको केन्द्रीय समिति बैठक लाइभ गरेको छ।
मंगलबार र बुधबार कांग्रेसले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गरेको हो।
कांग्रेसको आधिकारिक फेसबुक पेजबाट बैठक लाइभ गरिएको छ।
बैठकमा १० एजेन्डामा केन्द्रित रहेर धारणा राख्न केन्द्रीय सदस्यलाई ७ मिनेटको समय दिइएको छ।
सभापति शेरबहादुर देउवाले नै केन्द्रीय सदस्यलाई पालैपालो समय दिएका छन्। समय सकिने बेला जनाउ घन्टीसमेत बजाइन्छ।
बुधबार केन्द्रीय सदस्यहरूले विभिन्न विषयमा केन्द्रित रहेर धारणा राखे। उनीहरूले बैठक लाइभ गरेकोमा सभापति देउवालगायत पदाधिकारीलाई धन्यवाद पनि दिएका छन्।
केन्द्रीय सदस्य जीवनबहादुर शाहीले बैठक लाइभ गर्दा गाउँदेखि विदेशसम्मका मानिसले हेर्न पाएको बताए।
‘मेरो घर हुम्ला हो। हुम्लाबाट म कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्छु। केन्द्रीय सदस्य पनि छु,’ केन्द्रीय समिति बैठकमै उनले भने, ‘हिजो मलाई लिमीबाट फोन आयो। बैठक लाइभ हेरेर मलाई फोन आएको थियो। फोन गर्नेले भन्दै थिए- सभापति यसरी बस्नुभएको थियो, बोल्नुभएको थियो, मैले हेरेँ भनेर।’
कांग्रेस सबैभन्दा पुरानो पार्टी र बूढो भइसक्यो भन्ने आरोप लाग्ने गरेको प्रसंग निकाल्दै उनले थपे, ‘यो पार्टी बूढो भइसकेको छ भन्ने आमजनमासनमा थियो। त्यो नभएर हामी आधुनिकीकरणमा गइरहेका छौं भन्ने सन्देश हामीले केन्द्रीय समिति लाइभ गरेर देखायौं।’
कांग्रेसको केन्द्रीय समिति बैठक सञ्चालन विधिलगायत बारेका जिज्ञासा पनि लाइभपछि समाधान भएका छन्।
उनले पार्टीका कामकारबाही प्रविधिमा आधारित हुँदै गएको पनि बताए।
‘२००७, २०१७ सालमा कांग्रेसले यो गर्यो, त्यो गर्यो भनेर अहिलेको पुस्ताले सुन्दैन,’ उनले भने, ‘हामीलाई के दियो भन्ने छ। बाटो बन्यो बनेन, खानेपानी आयो आएन। इन्टरनेट सुविधा दियो दिएन, घरमै बसेर केन्द्रका कुरा सुन्न पाइयो कि पाइएन भनेर अहिलेको पुस्ताले चासो राख्छन्।’
कांग्रेसले बैठक लाइभ गरेर नयाँ पुस्ताका चाहना पूरासमेत गरेको उनको तर्क छ। ‘लाइभ गर्ने निर्णय सभापति र पदाधिकारीले गर्नुभयो, राम्रो कामका लागि म धन्यावाद दिन चाहन्छु,’ उनले भने।
अर्का केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले बैठक लाइभ गरेर धेरै राम्रो भएको बताए। ‘बैठक लाइभ छ, हामी सबै अनुशासित पनि भएका छौं,’ उनले भने, ‘लाइभले अनुशासनसमेत सिकाएको छ। देश, विदेशबाट कांग्रेसमा के भइरहेको छ चासोपूर्वक हेरिएको छ।’
केन्द्रीय सदस्य सुशीला थिङ पनि बैठक लाइभ गरिएकोमा खुसी छिन्। केन्द्रीय कार्यसम्पादन समिति बैठक र पदाधिकारी बैठक पनि लाइभ गर्नुपर्ने बताइन्। ‘केन्द्रीय समिति लाइभ गरिएको छ, राम्रो भयो। महत्वपूर्ण निर्णय हुने कार्यसम्पादन बैठक र पदाधिकारी बैठक लाइभ हुन्छ कि हुँदैन?,’ उनको प्रश्न छ।
केन्द्रीय सदस्य राधा घलेले बैठक लाइभ गरेर कसले के बोल्यो जनताले हेर्न पाएको बताइन्।
लाइभ गर्ने प्रस्ताव देउवाकै
केन्द्रीय समिति बैठक पार्टीको आधिकारिक फेसबुकमार्फत लाइभ गर्ने प्रस्ताव सभापति शेरबहादुर देउवाले नै अघि सारेका हुन्। निवास धुम्बाराहीमा साउन १ मा भएको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले बैठक लाइभ गर्ने प्रस्ताव गर्दै तयारी गर्न मुख्यसचिव कृष्णप्रसाद पौडेललाई निर्देशन दिएका थिए।
‘दलहरूको बैठक लाइभ गर्ने विदेशतिर पनि अभ्यास छ। यसै पनि कांग्रेसको बैठकका विषय अधिकांश सञ्चार माध्यमहरूमा आउने गरेकै छ। यसपालिदेखि बैठक लाइभ गरौं,’ सभापति देउवाले भनेका थिए।
केन्द्रीय कार्यालय र प्रचार विभागले बैठक लाइभको बन्दोबस्त मिलाएका छन्।
कांग्रेस केन्द्रीय समिति बैठकमा धारणा राख्ने नेताहरूले भित्र एउटा, बाहिर अर्को कुरा गर्ने गरेको भन्दै सभापति देउवाले बरू बैठक लाइभ गर्नुपर्ने धारणा यसअघि नै राख्दै आएका थिए। केन्द्रीय समिति भित्र बोलेका कुरा जस्ताको त्यस्तै बाहिर ल्याउने चाहनाअनुसार देउवाले बैठक लाइभ गर्न निर्देशन दिएका हुन्।