बिजनेस विहीन बागमती प्रदेशसभा, फास्ट ट्रयाकबाट ४ कानुन निर्माण
बागमती प्रदेशसभा बिजनेस विहीन अवस्थामा छ । दोस्रो कार्यकालका लागि गत पुस १८ गते गठित प्रदेशसभालाई प्रदेश सरकारले पर्याप्त बिजनेस दिन नसक्दा पछिल्लो समय बैठक नै बस्न छाडेको छ ।
प्रदेशसभा सचिवालयमा अहिले कुनै पनि विधेयक दर्ता नभएको बागमती प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए । जसले गर्दा प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
प्रदेशसभालाई चलायमान बनाउन प्रदेश सरकारले आवश्यक विधेयकहरु सचिवालयमा दर्ता गर्नुपर्ने हो । तर, सरकारले आवश्यक विधेयक संसदमा पठाउन सकेको छैन । सरकारले संसदलाई बिजनेस दिन नसक्दा गत २० दिनदेखि बैठक स्थगित गरिएको छ ।
पछिल्लो पटक गत असार २२ गते प्रदेशसभाको बैठक बसेको थियो । उक्त बैठकमा प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०÷०८१ को बजेट पारित गरिएको थियो । बजेट पारित भएसँगै स्थगित गरिएको बैठक अनिश्चित बनेको हो ।
प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार संसदमा हाल कुनै पनि नयाँ विधेयक दर्ता भएका छैनन् । यसअघि दर्ता भएका विधेयकहरु प्रदेशसभाबाट पारित भइसकेको र एउटा विधेयक प्रदेश प्रमुखबाट फिर्ता भइ आएको उनले बताए । प्रदेशसभाको बैठक आह्वान गर्ने कुनै तयारी नरहेको पनि उनको भनाइ छ ।
‘प्रदेशसभामा अहिले कुनै पनि विधेयक बाँकी छैन । नयाँ विधेयक आएका छैनन् । दर्ता भएका विधेयकहरु सभाबाट पारित गरी अघि बढाइसकिएको छ । एउटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण हुन नसकेर फिर्ता आएको छ,’ उनले भने, ‘तत्काल प्रदेशसभा आह्वान गर्ने तयारी भएको छैन । सरकारबाट पनि कुनै जानकारी नआएकाले बैठक कहिले बस्ने भनेर ठ्याक्कै भन्न सकिन्न ।’
प्रदेश सरकारले भने छिट्टै नै प्रदेशसभा बैठक आह्वान गर्ने तयारी गरेको बताएको छ । प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथ कानुन मन्त्री गंगानारायण श्रेष्ठका अनुसार साउन महिनाभित्रै प्रदेशसभा बैठक आह्वान गर्नेगरी गृहकार्य भइरहेको छ । सरकारका कारण प्रदेशसभा बेरोजगार नहुने भन्दै उनले पर्याप्त मात्रामा बिजनेसहरु सदनमा पठाउने काम भइरहेको बताए ।
संसदीय समितिको नेतृत्व चयनको प्रक्रिया पनि आगामी प्रदेशसभा बैठकले टुङ्ग्याउने उनको भनाइ छ ।
‘साउनभित्रै प्रदेशसभा बैठक बोलाउने गृहकार्य भएको छ । केही प्रक्रियागत कामहरु पूरा गर्न समय लागेको हो । संसद बिजनेस विहीन हुँदैन,’ उनले भने, ‘संसदीय समितिको सभापतिको निर्वाचन पनि गर्न बाँकी छ । अबको बैठकले समितिको नेतृत्व पनि टुङ्ग्याउँछ ।’
सरकारले आगामी प्रदेशसभा बैठकमा कृषि, स्वास्थ्य, युवा वैज्ञानिक, चलचित्र लगायतका क्षेत्रसँग सम्बन्धित विषयका विधेयक संसदमा पठाउने गरी तयारी भएको मन्त्री श्रेष्ठले बताए ।