काँग्रेस र मजदुर एकअर्काको अनन्य सहयोगी हुन् : कांग्रेस सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिक र मजुदर एक अर्काको अनन्य सहयोगी भएको बताएका छन् ।
विश्व श्रमिक दिवसका उपलक्ष्यमा सुभकामना सन्देश प्रवाह गर्दै सभापति देउवाले मजदूरलाई कानून सम्मत अधिकार दिने कांग्रेस रहेको दाबी गरेका छन् । सभापति देवाउले प्रेस बिज्ञप्ती जारी गर्दै मे १ तारिख मजदुर वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन भएकाले कांग्रेसकै नेतृत्वमा नेपालमा प्रजातन्त्र स्थापनादेखि मजदुर आन्दोलन भएको बताइएको छ । मजदुर वर्गको समस्या समाधान गर्न तथा उनीहरुको हक हितका लागि कांग्रेस सधैं सचेत भएर लाग्ने उनको भनाई छ ।
बिज्ञप्तीमा उनले भनेका छन्,‘वि.सं.२०१६ मा नेपाली कांग्रेसको जन–निर्वाचित सरकारले नै कारखाना र मजदूर सम्बन्धी कानूनको तर्जुमा गरेर, मजदूरहरुलाई कानूनसम्मत् अधिकार प्रदान गरेको हो । आज पनि नेपालका श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरुले अनेक समस्याहरुलाई बेहोरिरहन परेको छ । उहाँहरुको समस्यालाई समाधान गरेर मजदूर वर्गको हक र हितको सम्वद्र्धन गर्न नेपाली कांग्रेस सदैव सचेत भएर लागिरहनेछ ।’
त्यस्तै, कांग्रेसको नेतृत्वमा वि.संं. २००३ सालमा विराटनगरमा मजदूरहरुको पहिलो ऐतिहासिक आन्दोलन भएको हुँदा कांग्रेस र मजदूर सधैं एक अर्काको अनन्य सहयोगी रहेको उनको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।