महाधिवेशन स्थलमै निःशुल्क स्वास्थ्य सेवा दिँदै सांसद डा. तोसिमा कार्की
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा चिकित्सक डा. तोसिमा कार्की पार्टीको पहिलो महाधिवेशनस्थलमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न सक्रिय देखिएकी छन्।
चितवनमा जारी महाधिवेशनका क्रममा डा. कार्कीले स्वास्थ्य शिविरमार्फत प्रतिनिधि, कार्यकर्ता तथा कार्यक्रममा सहभागी अन्य व्यक्तिहरूलाई प्रत्यक्ष स्वास्थ्य परामर्श र उपचार सेवा दिइरहेकी छन्।
राजनीतिक जिम्मेवारीसँगै चिकित्सकीय पेशालाई पनि निरन्तरता दिँदै आएकी डा. कार्कीको यो पहललाई महाधिवेशनमा सहभागीहरूले सकारात्मक रूपमा लिएका छन्। स्वास्थ्य सम्बन्धी सामान्य समस्या, परामर्श तथा आवश्यक उपचारका लागि महाधिवेशनस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको छ।
रास्वपाको पहिलो महाधिवेशनमा राजनीतिक गतिविधिसँगै स्वास्थ्य, व्यवस्थापन र स्वयंसेवी सेवाका कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन्। यिनै कार्यक्रमअन्तर्गत सांसद डा. कार्कीले चिकित्सकको भूमिकामा रहेर सेवा दिइरहेकी हुन्।