रास्वपा महाधिवेशनमा कडा निर्वाचन आचारसंहिता, उम्मेदवारको नामको चिट बोकेर मतदान गर्न नपाइने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा निर्वाचन प्रक्रियालाई निष्पक्ष र व्यवस्थित बनाउन कडा आचारसंहिता लागू गरिएको छ। महाधिवेशनमा मतदानका क्रममा कुनै पनि उम्मेदवारको नाम लेखिएको चिट बोकेर मतदान केन्द्रमा जान नपाइने व्यवस्था गरिएको छ।
अनुशासन आयोगका पदाधिकारीहरूका अनुसार मतदान प्रक्रियामा सहभागी हुने प्रतिनिधिले उम्मेदवारको नाम वा संकेत उल्लेख भएको कुनै पनि प्रकारको चिट, सूची वा सामग्री साथमा लैजान पाउने छैनन्।
आयोगले यस्तो सामग्री बोकेर मतदान गर्न गएको भेटिएमा सम्बन्धित उम्मेदवारमाथि समेत कारबाही हुन सक्ने जनाएको छ। नियम उल्लंघन गर्ने अवस्थालाई गम्भीर रूपमा लिँदै उम्मेदवारीसमेत खारेज गर्न सकिने व्यवस्था गरिएको बताइएको छ।
रास्वपाका नेता गणेश पराजुलीका अनुसार निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र प्रभावमुक्त बनाउन अनुशासन समितिले उक्त व्यवस्था लागू गरेको हो। उनले प्रतिनिधिहरूलाई निर्धारित आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेका छन्।
रास्वपाको पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ। विभिन्न पदमा उच्च प्रतिस्पर्धा देखिएकाले निर्वाचन प्रक्रियालाई पारदर्शी बनाउन पार्टीले विशेष सावधानी अपनाएको जनाएको छ।