राष्ट्र बैंकले तोक्यो बैंकका सीईओको तलब–सुविधाको सीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूको तलब, भत्ता तथा अन्य सुविधामा सीमा तोकेको छ। राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शन, २०८३’ जारी गर्दै नयाँ व्यवस्था लागू गरेको हो।
नयाँ मार्गदर्शनअनुसार सीईओको वार्षिक तलब तथा भत्ता कर्मचारी खर्च र संस्थाको कुल सम्पत्तिका आधारमा निर्धारण गरिनेछ। तोकिएका दुईमध्ये जुन रकम कम हुन्छ, सोही सीमाभित्र रहेर मात्र पारिश्रमिक दिन पाइनेछ।
‘क’ वर्गका वाणिज्य बैंकले सीईओलाई विगत तीन आर्थिक वर्षको औसत कर्मचारी खर्चको बढीमा २ प्रतिशत वा अघिल्लो वर्षको कुल सम्पत्तिको ०.०१५ प्रतिशतसम्म वार्षिक तलब दिन सक्नेछन्। त्यस्तै, ‘ख’ वर्गका विकास बैंकका लागि यो सीमा कर्मचारी खर्चको ३ प्रतिशत वा कुल सम्पत्तिको ०.०२० प्रतिशत कायम गरिएको छ।
मार्गदर्शनले कार्यसम्पादनमा आधारित पारिश्रमिकलाई पनि निश्चित तलब तथा भत्ताको बढीमा २० प्रतिशतमा सीमित गरेको छ। संस्थाको नाफा, सम्पत्तिमा प्रतिफल, पुँजीमा प्रतिफल, निष्क्रिय कर्जा तथा नियामकीय पालना जस्ता सूचक पूरा भएमा मात्रै यस्तो सुविधा उपलब्ध गराउन पाइनेछ।
राष्ट्र बैंकले सीईओका अन्य सुविधामा पनि सीमा तोकेको छ। अब सीईओले एउटा मोबाइल, एउटा ल्यापटप र एउटा सवारी साधन (चालक तथा इन्धनसहित) मात्र सुविधा पाउनेछन्। टेलिफोन, इन्टरनेट, व्यावसायिक सदस्यता तथा पत्रपत्रिकामा हुने खर्च वार्षिक तलब–भत्ताको ०.५० प्रतिशतभित्र सीमित गर्नुपर्ने व्यवस्था गरिएको छ।
सीईओको पारिश्रमिक निर्धारणलाई पारदर्शी बनाउन बैंकको सञ्चालक समितिअन्तर्गत स्वतन्त्र सञ्चालकको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्नुपर्ने व्यवस्था पनि मार्गदर्शनमा समावेश गरिएको छ।