सम्पत्ति र सभ्यता जोगाउन सके लिपुलेक र लिम्पियाधुरा जोगाउन सकिन्छ
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले भएका सभ्यताहरूको जगेर्ना गर्ने कुरा पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् ।
बुधबारबाट सुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले केन्द्रको सरकार नटिक्दा स्थानीय सरकारलाई कतिपय काम गर्न असहज भएकाले केन्द्र सरकार टिकाउनुपर्ने बताए । उनले काठमाडौं महानगरले बागमती सभ्यता जोगाउन पहल गरिरहेको भन्दै सरकारले यसमा सहज बनाइदिनुपर्ने बताए ।
उनले पहिला भएका सम्पत्ति र सभ्यता जोगाउन सके लिपुलेक र लिम्पियाधुरा जोगाउन सकिने बताए । ‘केन्द्रको सरकार नटिक्दा स्थानीय सरकारलाई असहज हुने गरेको छ, धेरै कुरा जोडिएको छ । बागमती सभ्यता जोगाउन खोज्दैछौँ । यो मान्छेभन्दा अघिको सभ्यता हो । पहिला भएका सम्पत्ति जोगाऔँ, त्यसपछि लिपुलेक र लिम्पियाधुरा पनि जोगाउला,’ उनले भने ।
मेयर शाहले न्यायिक समितिले सरकार भनेको सिंहदरबारमा मात्रै नभई पालिकापालिकामा छ भन्ने अनुभूति नागरिकलाई दिलाउन सक्नुपर्ने बताए । उनले न्याय माग्न ११ दिन काठमाडौं महानगरपालिकामा हिँडेर आउनुपर्ने अवस्थाको अन्त्य गर्न न्यायिक समितिले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
मेयर शाहले पालिकामा नै न्यायिक समितिले मेलमिलाप केन्द्र राखेर घर, परिवारमा नै सरकार छ भन्ने अनुभूति जनतालाई दिन सक्नुपर्ने बताए ।