माओवादी केन्द्रले राष्ट्रपतिका बारेमा आधिकारिक निर्णय गर्ने
नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको बारेमा आधिकारिक निर्णय गर्ने भएको छ । फागुन १३ गतेअघि माओवादी केन्द्रले राष्ट्रपतिको बारेमा आधिकारिक निर्णय गर्ने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए ।
यो पार्टी वा त्यो पार्टी भन्दा पनि सहमतिमा राष्ट्रपति कसलाई बनाउने विषयमा छलफल हुने उनले बताए । ‘कांग्रेसलाई राष्ट्रपति दिने विषयमा छलफल भइरहेको छ तर आधिकारिक निर्णय भएको होइन’ उनले भने, ‘माओवादी केन्द्रले सबै दलसँग परामर्श गरिरहेको छ, बैठकबाट ती सबै कुराको टुङ्गो लगाउँछ, यी सँगै राष्ट्रपतिका बारेमा पनि आधिकारिक धारणा माओवादीले ल्याउँछ ।’
नेकपा एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने गरी माओवादी केन्द्रसँग सहमति भइसकेको दाबी गर्दै आइरहेको छ । उसले माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउँदा प्याकेजमै सबै पदमा सहमति भएको भन्दै राष्ट्रपति आफूहरूको भागमा परेको बताउँदै आएको हो ।