दलित र महिलाका मुद्दा ओलीका एजेन्डा होइनन् : अञ्जना विशंखे
नेकपाकी केन्द्रीय सदस्य अञ्जना विशंखेले संविधानमा समेटिएका संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिकसहित दलित र महिलाको अधिकारका मुद्दा केपी ओलीका एजेन्डा नभएको बताएकी छिन् । उनले संविधानमा लेखिएका ती अधिकारको कार्यान्वयनको निमित्त सडकमा आउनुपरेको बताइन् ।
‘हाम्रा मुद्दाहरू सडकमा छरिए, हामीले सत्तामा हाम्रा मुद्दाहरूलाई एड्जस्ट गराउन सकेनौँ,’ काठमाडौंमा प्रचण्ड–माधव समूहले गरेको विरोध सभामा बोल्दै नेतृ बिशंखेले भनिन्, ‘ती मुद्दाहरू हाम्रा थिए, केपी ओलीका थिएनन्, उनी मात्र प्रधानमन्त्री बन्नलाई साक्षी बसेका थिए, अब प्रधानमन्त्रीको नाटकलाई सडकले नंग्याइसकेको छ ।’
उनले विगतमा भएका कमजोरीहरूलाई सच्याउँदै संविधानले व्यवस्था गरेका महिला र दलितका विशेष अधिकारहरूको ग्यारेन्टी गर्न ओलीको प्रतिगमनको विरुद्धमा, असंवैधानिक कदमको विरुद्धमा सडकमा उत्रिनुपरेको बताइन् ।