इप्पानको २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन शुक्रबार हुँदै
काठमाडौं — स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (IPPAN) को २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन शुक्रबार हुने भएको छ।
इप्पानका अध्यक्ष गणेश कार्कीका अनुसार साधारणसभा तथा अधिवेशनका लागि आवश्यक तयारी पूरा भइरहेको छ। संस्थामा हाल ७०० भन्दा बढी कम्पनी आबद्ध छन्।
संस्थाले जारी गरेको विज्ञप्तिअनुसार यसअघि गठन गरिएको विधान संशोधन तथा पुनर्लेखन समितिले संस्थालाई महासङ्घमा रूपान्तरण गर्ने प्रस्ताव अघि सारेको थियो। तर पछिल्ला कार्यसमिति बैठकहरूले इप्पानलाई महासङ्घमा रूपान्तरण गर्न नसकिने निष्कर्ष निकाल्दै वर्तमान विधानअनुसार नै अधिवेशन गर्ने निर्णय गरेका हुन्।
विज्ञप्तिमा २०८३ वैशाख ४ गतेको कार्यसमिति बैठकले इप्पान विधान, २०७८ अनुसार २४औँ साधारणसभा तथा आठौँ अधिवेशन गर्ने निर्णय गरेको उल्लेख छ।
त्यसैगरी, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हटाउने तथा अध्यक्ष पदमा योग्य सदस्यले एक कार्यकाल कार्यसमितिमा बसेपछि मात्र उम्मेदवारी दिन पाउने प्रस्ताव आगामी साधारणसभामा पेश गरिने बताइएको छ। अन्य पदहरूमा भने खुला प्रतिस्पर्धाबाट उम्मेदवारी दिन सकिने व्यवस्था प्रस्ताव गरिएको छ।
संस्थाले विधान गायब भएको र विधानविपरीत साधारणसभा आयोजना गर्न लागिएको भन्ने आरोपलाई अस्वीकार गर्दै ती दाबीलाई निराधार भनेको छ।
इप्पानले सबै सदस्यलाई अधिवेशनमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।