रविले डाकेको सर्वदलीय बैठकमा विपक्षीले भने : प्रधानमन्त्रीले जवाफ दिए संसद् खुल्छ
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति Rabi Lamichhane को आह्वानमा सर्वदलीय बैठक काठमाडौंस्थित संसद् सचिवालय, सिंहदरबारको सार्वजनिक लेखा समितिको हलमा बसेको छ।
बैठकमा सभापति लामिछानेले हालै सम्पन्न भारत भ्रमणबारे सहभागी दलका नेताहरूलाई जानकारी गराएका छन्। साथै समसामयिक राजनीतिक अवस्था, दलहरूबीचको संवाद र राष्ट्रिय महत्वका विषयमा छलफल भइरहेको बताइएको छ।
बैठकमा सहभागी विभिन्न राजनीतिक दलका नेताहरूले यस्तो सर्वदलीय संवादले राजनीतिक वातावरण सुधार गर्न सहयोग पुग्ने भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन्। उनीहरूले संसद्को प्रभावकारी सञ्चालन, आपसी सहकार्य र संवाद निरन्तरताको आवश्यकता औँल्याएका छन्।
बैठकपछि नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले देशको हितविपरीत अभिव्यक्तिहरूको विषयमा प्रधानमन्त्री Balen Shah ले संसद्मा आएर स्पष्टिकरण नदिएसम्म विरोध जारी रहने बताएका छन्। उनले सीमा विवाद र राष्ट्रिय हितसँग सम्बन्धित विषयमा गम्भीर छलफल आवश्यक रहेको पनि उल्लेख गरेका छन्।
बैठकमा संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने विषयलाई प्रमुख एजेन्डाका रूपमा छलफल गरिएको छ। सभापति लामिछानेले संसद्को अवरोध हटाएर नियमित संसदीय गतिविधि सञ्चालन गर्न साझा समझदारी आवश्यक रहेको बताएका छन्।
दलका नेताहरूबीच छलफल जारी रहेको र बैठकको निष्कर्ष पछि सार्वजनिक गरिने जनाइएको छ।