प्रधानमन्त्री र एक नम्बर अध्यक्ष नपाएपछि प्रचण्ड चोइटिए- मन्त्री चौधरी
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले प्रधानमन्त्री र १ नम्बर अध्यक्ष बन्ने लक्ष्य पुरा नभएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीबाट चोइटिएर गएको बताएका छन्।
धनगढीमा सोमबार आयोजित प्रेस संगठन नेपालको सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा बोल्दै उनले चोइटिएर गएका प्रचण्ड लाल गद्धार भएको आरोपसमेत लगाए। उनले प्रचण्ड–नेपालले गलत भ्रम जनतामा फैलाउने काम गरिरहेको बताए।
मन्त्री चौधरीले १० वर्षे युद्वकालमा प्रचण्डसँग हिँडेको स्मरण गर्दै पार्टी एकतापछिको उद्धेश्य विपरित प्रचण्ड आफ्नो स्वार्थमा लागेको बताए। ‘उहाँले २ पटक प्रधामन्त्री हुँदा पनि जनयुद्धकालका घाईते, जनमुक्ति सेना र शहिद परिवारका मुद्दा हल गर्न सक्नुभएन,’ उनले भने,‘अहिले सरकारले द्धन्दकालका घाईते, अपांग र शहिद परिवारलाई आवश्यक सहयोग गर्न प्रकृया अगाडि बढाएको छ।’
उनले सूर्य चुनाव चिन्हमा प्रचण्ड-नेपाल पक्षले दाबी गर्न नमिल्ने बताए। ‘प्रचण्डले कहिल्यै सूर्यमा भोट मागेर जितेनन्, उनले सूर्य चिन्ह हाम्रो भन्न सुहाउँछ?,’ उनले प्रश्न गरे। सरकारले राष्ट्रियता र स्वाधिनताका पक्षमा काम गरिरहेको दाबी गर्दै पत्रकारलाई यी कुराहरु जनतामाझ पुर्याउन आग्रह गरे।
श्रमिकले कोरोना महामारीका बेला भोगको समस्या हल गर्न सरकारले गत वर्ष चैतभित्रको पुरै तलब दिने, वैशाखको आधा, जेठको काम गर्न गए पुरै, काममा नगए आधा तलव दिने निर्णय गरेको मन्त्री चौधरीले बताए।