नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउँछौं : ओली
(काठमाडौं) प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने बताएका छन्।
शहीदको बलिदानीपूर्ण संघर्षको मार्गदर्शनबाट समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउँदै राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्य सरकारले तय गरेको बताएका छन्।
शहीद दिवसको अवसरमा सन्देश दिँदै ओलीले भनेका छन्, ‘हाम्रा प्रातः स्मरणीय शहीदले देखेको सपनाको सार देशको समृद्धि र जनताको सुख हो। देशको समृद्धि र जनताको सुखप्राप्तिका लागि तिनै शहीदका सपनालाई मूर्तरुप दिन हामीले बितेका केही वर्षमा नवनिर्माणको चौतर्फी अभियान चलाएका छौं।’
सुस्थीर राजनीतिमा व्यवधान पैदा गर्दै मुलुकको विकास र समृद्धिको आकांक्षाविरुद्ध खडा गरिएका चुनौतीलाई सबैले एकजुट भएर पराजित गर्नुपर्नेसमेत प्रधानमन्त्री ओलीले सन्देशमा उल्लेख गरेका छन्।