प्रचण्ड निवासमा प्रधानमन्त्री ओली, छलफलमा वामदेव पनि सहभागी
सत्तारूढ नेकपाभित्र चुलिँदाे विवादलाई साम्य पार्ने नयाँ प्रयासस्वरूप खुमलटारस्थित नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’काे निवासमा छलफल सुरू भएकाे छ ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली शनिबार प्रचण्ड निवास खुमलटारमै पुग्नुभएकाे हाे । प्रधानमन्त्री पुगेकाे केहीबेर पछि नेकपा उपाध्यक्ष वामदेव गौतम पनि वार्तामा सहभागी हुन पुगेकाे प्रचण्डका निजी सचिवालयले जनाएकाे छ ।
यसअघि प्रायः प्रधानमन्त्री निवास, बालुवाटारमा नै दुइ अध्यक्षबीच भेट र छलफल हुने गरेकाे थियाे । तर यसपटक अध्यक्ष एवं प्रधानमन्त्री ओली प्रचण्डकाे निजी निवासमै पुग्नुले नेकपाभित्रकाे तनावकाे अवस्था र यसमा नेताहरूकाे सक्रियता कतिसम्म बढेकाे छ भन्ने कुरा प्रस्ट पार्छ ।
खुमलटारकाे भेट तथा छलफल सकारात्मक रूपले सुरू भएकाे स्राेतकाे भनाइ छ ।