खाद्यजन्य रोग न्यूनीकरणका लागि सरकार प्रतिबद्ध: मन्त्री मेहता
काठमाडौँ — स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले खाद्यजन्य रोग गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा रहेकाले त्यसको सामना गर्न जनस्वास्थ्य क्षेत्रमा आवश्यक सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्।
विश्व खाद्य स्वच्छता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सुरक्षित र स्वच्छ खानपान सुनिश्चित गरेर जनस्वास्थ्य सुधार गर्ने कार्यमा सरकार निरन्तर लागिरहेको उल्लेख गरिन्। उनका अनुसार खाद्य स्वच्छतालाई मजबुत बनाउन खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखिएको छ।
यसका साथै खाद्य परीक्षण प्रयोगशालाहरूको सुदृढीकरण, जोखिमका आधारमा बजार अनुगमन र नीतिगत सुधारका कार्यक्रमलाई तीव्रता दिइने पनि उनले स्पष्ट पारिन्। खाद्यपदार्थको उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण प्रक्रियामा स्वच्छता कायम राख्नु राज्यको दायित्व भएको उल्लेख गर्दै मन्त्री मेहताले असल कृषि अभ्यास, असल उत्पादन अभ्यास तथा उचित भण्डारण विधिहरू अपनाउनुपर्नेमा जोड दिइन्।
उनका अनुसार यस्ता असल अभ्यासले बजारमा गुणस्तरीय खाद्यपदार्थको उपलब्धता सुनिश्चित गर्नुका साथै अस्वस्थ खानपानबाट हुने मानवीय क्षति र आर्थिक भारलाई पनि घटाउँछ।
मन्त्री मेहताले खाद्य शृङ्खलामा संलग्न उत्पादक, व्यवसायी, उपभोक्ता लगायत सबै सरोकारवालाले स्वच्छ खानपानको महत्त्व बुझी आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताइन्। यस दिवसले सबैमा सचेतना र जिम्मेवारी बढाउने अपेक्षा समेत उनले व्यक्त गरिन्।
आज नेपालसहित विश्वभर ‘सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको पहिचान’ भन्ने मूल नाराका साथ विश्व खाद्य स्वच्छता दिवस मनाइँदै छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक वर्ष करिब ६० करोड मानिस दूषित खाद्यपदार्थका कारण बिरामी पर्ने गरेका छन् भने चार लाख २० हजार मानिसले अकालमै ज्यान गुमाउने गरेका छन्।