कमला पुल निरीक्षणमा पुगेका मन्त्री लम्सालविरुद्ध स्थानीयको आक्रोश
सिरहा — पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमाथिको बहुचर्चित पुल निरीक्षणका क्रममा पुगेका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालप्रति स्थानीयले आक्रोश व्यक्त गरेका छन्।
शनिबार साँझ पुलस्थल पुगेर निर्माण अवस्थाबारे अनुगमन गरेका मन्त्री लम्सालले काम शीघ्र सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए। तर पुल निर्माण कहिले सम्पन्न हुन्छ, पुरानै संरचनालाई निरन्तरता दिइन्छ वा नयाँ योजना ल्याइन्छ भन्ने विषयमा स्पष्ट धारणा सार्वजनिक नगरेको भन्दै स्थानीय असन्तुष्ट बनेका हुन्।
स्थानीयका अनुसार पुल निर्माणको भविष्यबारे प्रश्न गर्दा मन्त्रीबाट ठोस जवाफ नआएपछि केही युवाले नाराबाजी गरेका थिए। मन्त्रीको टोली फर्किने क्रममा ‘फोटो खिचाउन मात्र होइन, जवाफ पनि दिनुपर्छ’ र ‘मधेशलाई उपेक्षा गर्न पाइँदैन’ लगायतका नारा लगाइएको थियो।
करिब १५ वर्षदेखि अलपत्र अवस्थामा रहेको कमला पुलको निरीक्षणका लागि यसअघि पनि विभिन्न प्रधानमन्त्री र मन्त्रीहरू पटक–पटक पुगेका भए पनि निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन।
स्थानीयवासीले यसपटक पनि मन्त्रीबाट स्पष्ट कार्ययोजना नआएको भन्दै निराशा र असन्तुष्टि व्यक्त गरेका छन्।
हुलाकी कमला पुल संघर्ष समितिका संयोजक इन्जिनियर प्रविन यादवका अनुसार मन्त्री लम्सालले ‘हामी बोल्न होइन, काम गर्न आएका हौं, काम गरेर देखाउँछौं’ भनेका थिए। तर निर्माणको समयसीमा र ठोस योजनाबारे प्रतिबद्धता नआएपछि स्थानीय आक्रोशित बनेका हुन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठकले मन्त्रीको निरीक्षणपछि सामान्य नाराबाजी भएको पुष्टि गरेका छन्। उनले सवारी आवागमनमा कुनै अवरोध नआएको उल्लेख गर्दै मन्त्रीको सवारी फर्किने क्रममा प्रहरीले सामान्य सहजीकरण गरेको जानकारी दिए।