विद्यार्थीका शैक्षिक र रोजगारी समस्याबारे माइतीघरमा सडक नाटक
काठमाडौंको माइतीघर मण्डलामा विद्यार्थीहरूले भोगिरहेका शैक्षिक, आर्थिक तथा रोजगारीसम्बन्धी समस्यालाई केन्द्रमा राखेर सडक नाटक प्रदर्शन गरिएको छ।
सिभिक इनोभेसन स्पेसको आयोजनामा आइतबार आयोजित नाटकमार्फत स्वदेशमा अध्ययनरत विद्यार्थीहरूको आर्थिक कठिनाइ, उच्च शिक्षामा पहुँचको समस्या, सीपमा आधारित शिक्षाको अभाव, अध्ययनपछिको रोजगारी अनिश्चितता तथा बढ्दो ब्रेन ड्रेनजस्ता विषय उठान गरिएको थियो।
प्रदर्शनका क्रममा दक्ष र सीपयुक्त युवालाई स्वदेशमै अवसर सिर्जना गर्न, विद्यार्थीमैत्री नीति लागू गर्न तथा पार्टटाइम रोजगारीको वातावरण निर्माण गर्न राज्यले पहल गर्नुपर्ने सन्देश दिइएको थियो।
सहभागीहरूले शिक्षा प्रणालीलाई श्रम बजारसँग जोड्दै युवाहरूलाई देशमै भविष्य देख्ने वातावरण बनाउन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। नाटकमार्फत शिक्षित युवाहरू विदेशिन बाध्य हुने अवस्थाको अन्त्य गर्न शिक्षा, सीप विकास र रोजगारीबीच प्रभावकारी सम्बन्ध स्थापना गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो।
आयोजकका अनुसार युवाको क्षमता र सीपलाई स्वदेशमै उपयोग गर्न सकिने वातावरण निर्माणका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।