गाजा युद्धविराम कार्यान्वयनबारे काइरोमा हमाससहित विभिन्न पक्षबीच औपचारिक वार्ता
हमासले इजिप्टको राजधानी काइरो मा गाजा युद्धविराम सम्झौताको कार्यान्वयन तथा गाजा क्षेत्रको भावी व्यवस्थापनबारे विभिन्न प्यालेस्टिनी पक्ष र मध्यस्थकर्तासँग औपचारिक वार्ता सुरु गरेको जनाएको छ।
शनिबार सुरु भएको बैठकको मुख्य उद्देश्य युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत भएका सहमतिहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्नु रहेको हमासका प्रवक्ताले बताएका छन्। छलफलमा सैन्य गतिविधि अन्त्य, लक्षित आक्रमण रोक्ने, सीमा नाकाहरू सञ्चालनमा ल्याउने तथा राष्ट्रिय समितिलाई गाजामा प्रवेशको अनुमति दिने विषय समावेश छन्।
हमासका अनुसार वार्तामा युद्धविरामको दोस्रो चरणका विषयमा पनि विस्तृत छलफल हुनेछ। यस क्रममा अन्तर्राष्ट्रिय शान्ति बल वा प्राविधिक समितिको सम्भावित भूमिका, निःशस्त्रीकरण तथा प्यालेस्टिनी हतियारसम्बन्धी मुद्दामा सबै पक्षलाई स्वीकार्य हुने समाधान खोज्ने प्रयास गरिनेछ।
हमासले गाजामा पुनः द्वन्द्वको अवस्था सिर्जना हुन नदिन र प्यालेस्टिनी जनताको हितलाई केन्द्रमा राखेर वार्ता अघि बढाइएको जनाएको छ। गाजास्थित हमास नेतृत्वको प्रतिनिधिमण्डल तथा अन्य प्यालेस्टिनी पक्षका प्रतिनिधिहरू शुक्रबार काइरो पुगेका थिए। वार्ता केही दिनसम्म जारी रहने अपेक्षा गरिएको छ।
यी छलफलहरू अक्टोबर २०२५ मा भएको युद्धविराम सम्झौताको कार्यान्वयन अझै पूर्ण हुन नसकेको अवस्थाबीच सुरु भएका हुन्। सम्झौताअन्तर्गत बन्दीहरूको आदानप्रदान, मानवीय सहायता प्रवेश र केही क्षेत्रबाट सैनिक फिर्ता गर्ने व्यवस्था भए पनि निःशस्त्रीकरण, पुनर्निर्माण तथा अन्तरिम प्रशासनिक संरचना गठनजस्ता महत्वपूर्ण विषय अझै प्रक्रियामै रहेका छन्।