बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सुरु, ओली अनुपस्थित
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पूर्वनिर्धारित स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ ।
नेकपाभित्र देखिएको विवाद समाधान गर्न दुई अध्यक्षका फरक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ । बैठकमा अध्यक्ष ओली भने अनुपस्थित भएका छन् ।
आजको बैठकमा मंगलबार जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्न निर्देशन दिने विषय छलफल हुने एक सचिवालय सदस्यले जानकारी दिए । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेकपा सचिवालयका पाँचजना सदस्यले त्यसको चर्को विरोध गरेका छन् ।
बैठक अघि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि विवाद चर्किएकै वेला नेकपाका अध्यक्षद्वयबीच छलफल भएको छ ।
नेकपा स्थायी कमिटीको बैठक बस्नुअघि प्रधानमन्त्रीनिवास बालुवाटारमा दुवै अध्यक्षबीच भएको छलफललाई महत्वका साथ हेरिएको छ ।
यसअघि आजै बिहान प्रधानमन्त्रीको सन्देश बोकेर नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेल खुमलटार पुगेका थिए ।