स्थायी कमिटी बैठकअघि ओली र प्रचण्डबीच वान टु वान वार्ता
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएकाे छ । स्थायी कमिटी बैठकअघि प्रधानमन्त्री निवास बालुवाटारमा दुई जना अध्यक्षबीच ‘वान टु वान’ संवाद भएको हो ।
दुई अध्यक्षबीचकाे छलफलपछि नेकपा स्थायी कमिटी बैठक बस्ने संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयाे । आजको स्थायी समिति बैठकमा ओली इतर समूहले कडारुपमा प्रस्तुत हुने यसअघि नै निर्णय गरिसकेको छ ।
ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि क्रुद्ध बनेका दाहालले मंगलबारै तत्काल फिर्ता लिन भन्नुभएकाे थियाे । संवैधानिक परिषदका सदस्य तथा सभामखु अग्नि सापकोटा बैठकमा नगएर गणपूरक संख्या पुग्न नसकेको अवस्थामा ओलीले मंगलबारको मन्त्रिपरिषदबाट सिफारिस गराएर राष्ट्रपतिबाट अध्यादेश जारी गराउनुभएकाे थियाे ।
स्थायी कमिटीको बैठक अहिले १ बजे बालुवाटारमा बोलाइएको छ । गत मंसिर २१ गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक २८ गते बसेर शोक प्रस्ताव पारित गर्दै आजसम्मलाई रोकिएको थियो।