प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम गलत र भर्त्सनायोग्य : गौतम
(काठमाडौँ) नेकपा उपाध्यक्ष वामदेव गौतमले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गलत भएको प्रतिक्रिया दिएका छन् ।
संसद्को कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै नेपालको संविधानको मर्म र भावनाविपरीत प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिबाट जारी गराउने गैरसंवैधानिक कदम गलत र भर्तस्नायोग्य भएको उपाध्यक्ष गौतमले प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्यमान्यतालाई समाप्त पार्नेछ ।’
मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी हुन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटन गरिएको जनाएको छ । विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६को उपधारा (१) र (७) तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरिएको उल्लेख छ । साथै सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख १७ र २७ गते गरी दुई चरणमा प्रतिनिधिसभा निर्वाचनको मिति पनि तोकेकी छिन् ।
