वनमौरीको टोकाइबाट बर्दियामा ४३ वर्षीय पुरुषको मृत्यु
बर्दियामा वनमौरीको टोकाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–४ खैलार निवासी ४३ वर्षीय वीरबहादुर थारु रहेका छन् । घरको सिलिङमा रहेको वनमौरीको घारबाट निस्किएका मौरीले टोकेपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
प्रहरीका अनुसार कात्तिक २४ गते दिउँसो करिब १ बजे मौरीले टोकेपछि थारु बेहोस भएका थिए । उनलाई उपचारका लागि ठाकुरबाबा नगर अस्पताल, नेउलापुर भुरीगाउँ पुर्याइएको थियो । उपचारकै क्रममा सोही दिन दिउँसो ३ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार थारुको घरको सिलिङमा करिब दुई महिनादेखि वनमौरीका पाँचवटा घार रहेका थिए । मौरीको टोकाइबाट मृत्यु भएका उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बर्दिया ल्याइएको प्रहरीले जनाएको छ ।