दानबहादुर कार्कीको रिटमा भोलिका लागि पेसी तोकियो
सरकारको निर्णयबाट प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा भोलि पहिलो सुनुवाइ हुने भएको छ।
यसअघि हिजोका लागि पेसी तोकिएको भए पनि छठ पर्वको सार्वजनिक बिदाका कारण सुनुवाइ हुन नसकेपछि भोलिका लागि पेसी निर्धारण गरिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
कार्कीले प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत आफूलाई पदबाट हटाइएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। उनले आफूलाई प्रहरी महानिरीक्षक पदमा पुनर्वहाली गर्न र नवनियुक्त आईजीपीलाई कामकाज गर्न नदिन अन्तरिम आदेशसमेत माग गरेका छन्।
सरकारले डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारीमा पठाएको थियो।
कार्कीले मन्त्रिपरिषद्को निर्णय भएकै दिन प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार पदको नियुक्ति बुझिसकेको गृह मन्त्रालयले दाबी गरेको छ।
अब सर्वोच्च अदालतको पहिलो सुनुवाइमा कार्कीको मागअनुसार अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा अदालतले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ।