अर्घाखाँचीमा गोठमा आगलागी हुँदा ६३ वर्षीया महिला घाइते
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२ सल्लीकोटमा गोठमा आगलागी हुँदा एक महिला घाइते भएकी छन्। मंगलबार बिहान करिब ८ बजे स्थानीय ६३ वर्षीया टोमकला बस्यालको टिनले छाएको कच्ची गोठमा अचानक आगलागी भएको हो।
आगलागीका क्रममा गोठमा बाँधिएको भैँसी फुकाउने प्रयास गर्दा बस्यालको अनुहार र दायाँ हात जलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए।
घटनापछि तत्काल उद्धार गरिएकी बस्याललाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले जनाएको छ।
आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी अर्घा र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। आगो नियन्त्रणमा लिन दमकल, प्रहरी तथा स्थानीयवासी परिचालित भएका थिए।
आगलागीको कारण खुल्न सकेको छैन। गोठ तथा त्यहाँ रहेका सामग्रीमा भएको क्षतिको विवरणसमेत आउन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान तथा क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।