पोखराको लेकसाइडमा देउसीभैलो हेर्ने क्रममा झैझगडा गर्ने ९ जना पक्राउ
पोखराको लेकसाइडमा देउसीभैलो हेर्ने क्रममा आपसमा झैझगडा तथा कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको हो।
प्रहरीका अनुसार गत कात्तिक २५ गते राति करिब २ बजे पोखरा महानगरपालिका–६, लेकसाइडस्थित ‘लेबल क्लब’ अगाडि देउसीभैलो हेर्ने क्रममा युवाहरूबीच विवाद उत्पन्न भएपछि कुटपिट भएको थियो।
उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी सुरु गरेको थियो। अनुसन्धानका क्रममा संलग्न देखिएका उनीहरूलाई कात्तिक ३० गते नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रामजी देवकोटाले जानकारी दिए।
पक्राउ पर्नेमा धादिङ घर भई हाल पोखरा–११ बस्ने २८ वर्षीय आशिष मगर, कास्कीको रुपा गाउँपालिका–७ घर भई पोखरा–१२ माटेपानी बस्ने ३० वर्षीय अरुण थापा, माछापुच्छ्रे गाउँपालिका–२ स्थायी घर भई पोखरा–१९ लामाचौर बस्ने २४ वर्षीय सन्दीप गुरुङ र मोरङको लेटाङ नगरपालिका–१ घर भई पोखरा–१६ दीप बस्ने २३ वर्षीय मनिष राई रहेका छन्।
त्यस्तै, पर्वतको मोदी गाउँपालिका–४ घर भई पोखरा–१९ लामाचौर बस्ने २० वर्षीय अभिषेक गर्भुजा, म्याग्दीको रघुगंगा गाउँपालिका–७ घर भई पोखरा–११ फूलबारी बस्ने २८ वर्षीय प्रभात पुन तथा सोही गाउँपालिका घर भई पोखरा–१९ लामाचौर बस्ने २३ वर्षीय प्रसन गर्भुजा, २३ वर्षीय एनिस थापा र २४ वर्षीय सुन्दर पुन पनि पक्राउ परेका छन्।
पक्राउ परेका नौ जनालाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।