मोरङको रंगेलीमा खैरो हेरोइनसहित भारतीय तीन जना पक्राउ
मोरङको रंगेली नगरपालिका–४ चोप्राहा बोर्डरबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो पदार्थसहित भारतीय दम्पती र उनीहरूका छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
हिजो साँझ ७ः५० बजे विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका तीन जनालाई चेकजाँच गर्ने क्रममा लागूऔषध फेला पारेको हो।
इलाका प्रहरी कार्यालय रंगेली, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी टोली र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार भारतको बिहार प्रान्त, अररिया जिल्ला, थाना बोका मोजदार–२ मुस्लिम टोल निवासी ४० वर्षीया सकुन्तला पासवानले आफ्नो दाहिने हातको मुठ्ठीभित्र कालो प्लास्टिकमा लुकाएर राखेको अवस्थामा खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको थियो।
पक्राउ परेका तीनै जनामाथि लागूऔषध ओसारपसार तथा कारोबारसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।