श्रीमानको ढुङ्गाको लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, आरोपी पक्राउ
सिन्धुलीको कमलामाई नगरपालिका–१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ।
प्रहरीका अनुसार सामान्य विवादका क्रममा सोमबार राति करिब १ बजे ४२ वर्षीय मनोज कार्कीले आफ्नी ४० वर्षीया श्रीमती सानुकुमारी कार्कीको टाउकोमा ढुङ्गाको लोहोरोले प्रहार गरेका थिए। प्रहारबाट गम्भीर घाइते भएकी सानुकुमारीको मृत्यु भएको हो।
घटनाबारे राति १ः१५ बजे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
घटनामा संलग्न मनोज कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।