भिक्टोरियामा १२ वर्षपछि सत्तामा फर्कियो लिबरल–नेसनल गठबन्धन, लेबर पार्टीको ठूलो पराजय
काठमाडौं । अस्ट्रेलियाको दोस्रो ठूलो जनसङ्ख्या भएको भिक्टोरिया राज्यमा प्रधानमन्त्री एन्थोनी अल्बानिजको लेबर पार्टीले ठूलो पराजय व्यहोरेको छ । आइतबार सार्वजनिक प्रारम्भिक नतिजाअनुसार लिबरल–नेसनल गठबन्धन १२ वर्षपछि सत्तामा फर्किने भएको छ ।
आधाभन्दा बढी मतगणना सम्पन्न हुँदा गठबन्धनले राज्यको तल्लो सदनमा बहुमत सिट जितेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार लेबर पार्टी तेस्रो ठूलो दल बन्ने अवस्थामा पुगेको छ ।
३६ वर्षीया जेस विल्सन भिक्टोरियाको नयाँ मुख्यमन्त्री बन्ने भएकी छन् । उनी राज्यमा लिबरल पार्टीबाट मुख्यमन्त्री बन्ने पहिलो महिला हुनेछिन् ।
विल्सनले राज्यको करिब २० अर्ब अस्ट्रेलियन डलर ऋण घटाउने योजना अघि सारेकी छन् । उनको योजनामा ढल प्रणाली निजीकरण गर्ने प्रस्तावसमेत समावेश छ ।
लेबर पार्टीकी प्रमुखमन्त्री बेन क्यारोलले आफ्नो निर्वाचन क्षेत्रसमेत जोगाउन नसकेपछि हार स्वीकार गर्दै विल्सनलाई बधाई दिएकी छन् ।
यस चुनावी परिणामले प्रधानमन्त्री अल्बानिजमाथि थप राजनीतिक दबाब सिर्जना गरेको छ । बढ्दो महँगी, जीवनयापनको लागत र ब्याजदर वृद्धिका कारण अस्ट्रेलियाली मतदातामा सरकारप्रति असन्तुष्टि बढिरहेको विश्लेषण गरिएको छ । साथै, वन नेसन पार्टी पनि पहिलोपटक भिक्टोरियामा सिट जित्ने अवस्थामा पुगेको छ ।