ब्राउन सुगर र मोटरसाइकलसहित सुनसरीबाट दुई जना पक्राउ
काठमाडौं । प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र मोटरसाइकलसहित सुनसरीबाट दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इनरुवा नगरपालिका–३ का ३१ वर्षीय अमित अधिकारी र २४ वर्षीय रोहन पोदार रहेका छन् । उनीहरूलाई रामधुनी नगरपालिका–५ स्थित झुम्का बजारबाट १४ दशमलव ०७ ग्राम ब्राउन सुगर र मोटरसाइकलसहित पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको संयुक्त टोलीले शनिबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
बरामद लागूऔषध र मोटरसाइकलसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय पकलीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।