राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्यको सदस्यता अद्यावधिक
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका करिब एक लाख १० हजार क्रियाशील सदस्यको सदस्यता अद्यावधिक गरेको जनाएको छ ।
पार्टी नेता राजाराम श्रेष्ठका अनुसार आगामी मङ्सिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनलाई लक्षित गरी सदस्यता अद्यावधिक गरिएको हो । यसअघि पार्टीमा करिब डेढ लाख क्रियाशील सदस्य रहेका थिए ।
महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि छनोट प्रक्रिया पनि अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ । प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट तीन महिलासहित नौ जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था गरिएको छ ।
महाधिवेशनका लागि ७६ जिल्ला र पाँच प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ । साथै, प्रतिनिधि छनोटमा ४० वर्षमुनिका कम्तीमा एक जना युवाको सहभागिता सुनिश्चित गरिएको पार्टीले जनाएको छ ।