कांग्रेसद्वारा खुलामञ्चमा नयाँ दुबो रोपाइँ
नेपाली कांग्रेसले काठमाडौंको खुलामञ्चमा नयाँ दुबो रोपेको छ।
आइतबार बिहान कांग्रेस काठमाडौं महानगर समितिको आयोजनामा नेता तथा कार्यकर्ताहरू सहभागी भएर खुलामञ्चमा दुबो रोपेका हुन्। कार्यक्रममा कांग्रेस वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा पनि सहभागी हुने जनाइएको छ।
कांग्रेसको १५औँ महाधिवेशनका क्रममा खुलामञ्चको दुबोमा क्षति पुगेपछि नयाँ दुबो रोपिएको हो।
क्षति पुगेका स्थानमा दुबो रोप्ने, संरक्षण गर्ने र हुर्काउने जिम्मेवारी पनि कांग्रेसले लिएको छ। यसका लागि कांग्रेस केन्द्रीय कार्यालय र माउन्ट एभरेस्ट इभेन्ट्सबीच सम्झौता भएको थियो।
सम्झौताअनुसार डेढ महिनाभित्र दुबो रोप्ने र संरक्षण गर्ने काम सम्पन्न गरिनेछ। यसको सम्पूर्ण खर्च कांग्रेसले नै व्यहोर्नेछ।