रास्वपाका २० सांसद आज चीन जाँदै, प्रधानमन्त्री बालेनले दिए यस्तो सुझाव
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसद आज चीन जाँदै छन्। चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को औपचारिक निमन्त्रणामा पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल चीन जान लागेको हो।
नोभेम्बर १५ देखि २६ तारिखसम्म हुने भ्रमणका क्रममा प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्यसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा राजनीतिक नेतृत्वलगायतका विषयमा अनुभव आदानप्रदान र छलफल हुने रास्वपाले जनाएको छ।
चीन भ्रमणमा जानुअघि प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिमण्डलका सदस्यहरूसँग छलफल गर्दै भ्रमणका क्रममा धारणा राख्दा विशेष सावधानी अपनाउन सुझाव दिएका थिए। विशेषगरी बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) विवादित विषय भएकाले त्यसबारे विवेकपूर्ण ढंगले धारणा राख्न उनले आग्रह गरेका थिए।
प्रधानमन्त्री शाहले चीनले अघि सारेका विभिन्न ग्लोबल इनिसिएटिभमध्ये नेपालले ग्लोबल डेभलपमेन्ट इनिसिएटिभमा जोड दिनुपर्ने धारणा पनि राखेका थिए। त्यसपछि पार्टी सभापति रवि लामिछानेले समेत चीन जान लागेका सांसदहरूसँग छलफल गरेका थिए।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार भ्रमणलाई नेपाल–चीनबीचको राजनीतिक संवाद, आपसी समझदारी र विकास सहकार्य विस्तार गर्ने अवसरका रूपमा लिइएको छ।
चीन प्रस्थान गर्नुअघि प्रतिनिधिमण्डलले आज बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ।