जनकपुरधाम–अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्ने भारतको प्रस्ताव स्वीकृत
भारत सरकारले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ । भारतीय रेल मन्त्रालयले शनिबार जनकपुरधामदेखि अयोध्या क्यान्टसम्म रेल सेवा सञ्चालन गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।
प्रस्तावित रेल सेवाले करिब ६०४ किलोमिटर दूरी तय गर्नेछ । रेलले भारतको बिहार र उत्तर प्रदेशका विभिन्न महत्त्वपूर्ण सहर तथा बस्ती हुँदै यात्रा गर्नेछ ।
भारतीय रेल मन्त्रालयका अनुसार जनकपुरधाम र अयोध्या क्यान्ट अन्तिम स्टेसन रहनेछन् । यसबीच जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा रेल रोकिनेछ ।
यो रेल सेवा सातामा एकपटक सञ्चालन गर्ने प्रस्ताव छ । जसअनुसार जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट प्रत्येक सोमबार रेल छुट्ने व्यवस्था गरिएको भारतीय रेल मन्त्रालयले जनाएको छ ।
नयाँ रेल सेवा सञ्चालनमा आएपछि नेपाल र भारतबीचको सीमा पार आवागमन थप सहज हुने अपेक्षा गरिएको छ । विशेषगरी जनकपुरधाम र अयोध्याबीच धार्मिक यात्रा गर्ने तीर्थयात्री तथा पर्यटक प्रत्यक्ष लाभान्वित हुनेछन् ।
त्यस्तै, शिक्षा, व्यापार, व्यवसाय तथा पारिवारिक प्रयोजनका लागि दुवै देशबीच आवतजावत गर्ने यात्रुका लागि पनि यो सेवा उपयोगी हुने विश्वास गरिएको छ ।
रेलमार्ग विस्तारबाट यात्रामार्गमा पर्ने क्षेत्रका पर्यटन व्यवसायी, होटल तथा आतिथ्य सेवा प्रदायक, स्थानीय व्यापारी र परम्परागत हस्तकलामा संलग्न समुदायले समेत आर्थिक लाभ लिन सक्ने भारतीय रेल मन्त्रालयको अपेक्षा छ ।
भारत सरकारको यो निर्णय प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणसँग जोडिएको छ । प्रधानमन्त्री शाह मंसिर दोस्रो साता भारत भ्रमणमा जाने तय भएको छ । उक्त भ्रमणका क्रममा नेपाल–भारत रेल सेवा विस्तारसम्बन्धी विषयले थप महत्त्व पाउने अपेक्षा गरिएको छ ।