सिराहामा घर र किराना पसलमा चोरीपछि आगजनी, १० लाखभन्दा बढीको क्षति
छठ पर्व मनाउन परिवारसहित गाउँ गएको मौका छोपी सिराहाको मिर्चैयामा एक घर तथा किराना पसलमा चोरी गरी आगजनी गरिएको छ ।
मिर्चैया नगरपालिका–१ स्थित शौर्य सिमेन्ट उद्योगको पूर्वपट्टि रहेको रामकुमार महतोको घर तथा घरमै सञ्चालित किराना पसलमा अज्ञात समूहले चोरीपछि आगजनी गरेको हो ।
छठ पर्व मनाउन घरपरिवार गाउँ गएको अवस्थामा चोरहरू घर तथा पसलमा प्रवेश गरी चोरी गरेपछि आगो लगाएर फरार भएको बताइएको छ ।
आगलागीबाट पसलभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् । आगो फैलिने क्रममा पसलमा रहेको ग्यास सिलिन्डरसमेत विस्फोट भएको थियो । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार घटनामा १० लाख रुपैयाँभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।
घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा चोरी र आगजनीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।