सिरहामा साढे तीन वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ
सिरहामा साढे तीन वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक निजी विद्यालयका शिक्षक पक्राउ परेका छन् ।
धनगढीमाई नगरपालिका–१० जिरोमाइलस्थित विश्वशान्ति एकेडेमीमा कार्यरत करिब २५ वर्षीय शिक्षक सौगात लुइँटेललाई प्रहरीले पक्राउ गरेको हो । उनी विद्यालयको दैनिक प्रशासनिक जिम्मेवारीसमेत सम्हाल्दै आएका थिए ।
प्रहरीका अनुसार लुइँटेललाई गत मंगलबार जबर्जस्ती करणीसम्बन्धी कसुरमा पक्राउ गरी सिरहा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ । पीडित बालिकाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गराइएको र उनलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
पीडित परिवारले दिएको जाहेरीअनुसार आरोपीले कात्तिक ८ देखि १२ गतेसम्म टिफिनको समयमा बालिकालाई कार्यालयमा लगेर चकलेटको प्रलोभन देखाउँदै पटक–पटक यौन दुर्व्यवहार गरेको आरोप छ । बालिकाले कात्तिक १७ गते रुँदै घटनाबारे परिवारलाई बताएपछि घटना सार्वजनिक भएको हो ।
यसैबीच, आरोपी पक्राउ परेपछि विद्यालय सञ्चालकले विभिन्न राजनीतिक दलका नेतामार्फत जाहेरी फिर्ता लिन आर्थिक प्रलोभन देखाउनुका साथै दबाब र धम्की दिएको पीडित परिवारले गुनासो गरेको छ ।
सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले पीडित परिवारको जाहेरी दर्ता गरी घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।