आज एनपीएलमा लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाज भिड्दै
काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बेलुका ५ बजे सुरु हुनेछ । दुवै टोली आजको खेल जित्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यसहित मैदान उत्रनेछन् ।
चार खेल खेलेको लुम्बिनी तीन जित र एक बराबरीसहित ७ अंक जोडेर अंकतालिकाको शीर्षस्थानमा छ । यस्तै, तीन खेलमा दुई जित र एक हार बेहोरेको काठमाडौँ ४ अंकसहित चौथो स्थानमा रहेको छ ।
यसअघिका एनपीएल संस्करणमा यी दुई टोलीबीच तीन खेल भएका छन् । जसमा लुम्बिनीले एक र काठमाडौँले दुई खेल जितेका छन् ।