धरानमा ४७ किलो विस्फोटक पदार्थ बरामद, तीन जना पक्राउ
सुनसरीको धरानमा प्रहरीले विस्फोटक पदार्थ बनाउन प्रयोग हुने ४७ किलो सामग्री बरामद गरेको छ। भन्सार छली ल्याइएका सामानसहित मिनी ट्रकमा लुकाएर राखिएको अवस्थामा उक्त सामग्री बरामद गरिएको हो।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मोरङका २५ वर्षीय प्रदीपकुमार साह, ४२ वर्षीय भूपेन्द्र राजवंशी र ४२ वर्षीय कार्तिक राजवंशीलाई नियन्त्रणमा लिएको छ।
इटहरीबाट धरानतर्फ जाँदै गरेको मिनी ट्रक जाँच गर्ने क्रममा बोरामा प्याक गरिएको सेतो ठोस पदार्थ फेला परेको थियो। परीक्षणका लागि पठाइएको उक्त पदार्थ गन पाउडर तथा ब्ल्याक पाउडरको कम्पोनेन्ट रहेको प्रयोगशालाको प्रतिवेदनले पुष्टि गरेको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद पदार्थ कहाँबाट ल्याइएको थियो र के प्रयोजनका लागि प्रयोग गर्न खोजिएको थियो भन्ने विषयमा थप अनुसन्धान गरिरहेको छ। पक्राउ परेकाहरूमाथि अभद्र व्यवहार र विस्फोटक पदार्थसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।