सुर्खेत कारागारमा १९ वर्षीया महिला बन्दी मृत फेला
सुर्खेत कारागारमा एक महिला बन्दी मृत अवस्थामा फेला परेकी छन् । दैलेखको गुराँस गाउँपालिका–४ की १९ वर्षीया संगिता शाही कारागारभित्र मृत फेला परेकी हुन् । कर्तव्य ज्यान मुद्दामा बन्दी जीवन बिताइरहेकी उनी कारागारको ५ नम्बर कोठामा बस्दै आएकी थिइन् ।
प्रहरीका अनुसार शाही गएराति कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृतक शाहीको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल सुर्खेत लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।