पाँच जिल्लामा सवारी दुर्घटना : पाँच जनाको मृत्यु
देशका विभिन्न पाँच जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन् ।
बिहीबार दिउँसोदेखि रातिसम्म महोत्तरी, चितवन, बाँके, अर्घाखाँची र धादिङमा भएका दुर्घटनामा पाँच जनाले ज्यान गुमाएका हुन् ।
महोत्तरीको भंगाहा नगरपालिका–२ सिंग्याही बजारमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय कृष्ण महराको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् भने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै, चितवनको राप्ती नगरपालिका–१ महादेवटारमा रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा ३० वर्षीय अतिज श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार अन्य दुई जना घाइते भएका छन् । ट्रक चालक प्रहरी नियन्त्रणमा छन् ।
बाँकेको कोहलपुर नगरपालिका–१ कौशिलानगर चोकमा ट्याक्टरले अटोलाई ठक्कर दिँदा अटोमा सवार ४३ वर्षीय भीमबहादुर कामीको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । प्रहरीले ट्याक्टर र अटो चालकलाई नियन्त्रणमा लिएको छ ।
यसैगरी, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ स्यालेमा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा ४८ वर्षीय मुकुन्द चुदालीको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारका क्रममा ज्यान गएको हो । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ ।
उता, धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा बोलेरो दुर्घटना हुँदा ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चालकसहित छ जना घाइते भएका छन् ।
उनीहरूको थप उपचार काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा भइरहेको छ । बोलेरोमा सवार अन्य तीन जना घाइतेलाई जिल्ला अस्पताल धादिङ पठाइएको छ । पाँचवटै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।